नेपालगन्ज अडिसनमा देखिएको उत्साहबाट नेपाल आइडलको सिंगो टिम उत्साहित
इटहरी, माघ १२ / विश्व टेलिभीजनको चर्चित रियालिटी शो फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आडल’ को अडिसन नेपालगन्जबाट सुरु भएको छ । छोटो समयको तयारी र सूचनामा पनि गायनमा रुची राख्नेहरुको उल्लेख्य सहभागिता देखेर आफुहरु उत्साहित भएको नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेले बताए । प्रोजेक्ट हेड पौडेलले भने, ‘यो क्षेत्रबाट नेपालगन्ज अडिसनमा देखिएको उत्साहबाट नेपाल आइडलको सिंगो टिम नै उत्साहित भएको छ । प्रतियोगीहरुको गायकी र निर्णायकहरुको प्रतिक्रिया सुन्दा हामीले अपेक्षा गरेभन्दा पनि राम्रो पायौं ।’
यस क्षेत्रको सांस्कृतिक र सामाजिक विविधताभित्र एक अलग प्रकारको उत्कृष्ट प्रतिभा खोज्ने आफुहरुको चाहना नेपालगन्ज अडिसनबाट सफल हुने पौडेलको विश्वास छ । नियमित प्रशारणको सिघ्र तयारीमा रहेको नेपालकै पहिलो एचडी टेलिभीजन एपी वानले नेपाल भित्र्याएको नेपाल आइडलको सुरुवात नेपालगन्जबाट भएकोमा यस क्षेत्रका वासिन्दाल खुसी व्यक्त गरेका छन् ।
प्रतियोगितामा १६ देखि ३० वर्ष उमेरका युवाहरूले निःशुल्क प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ । पहिलो अडिसनमा सोह्र बर्ष पुगेर तीस बर्ष ननाघेको प्रमाण नभएका कयौंले प्रतिस्पर्धा गर्न पाएनन् । उमेर हदका कारण धेरैले गायनकला भएपनि प्रतिस्पर्धा गर्न नपाउँदा निराश भएर फर्किएका थिए । नेपाल आइडलमा उमेरको हद किन ? भन्ने प्रश्नमा प्रोजेक्ट हेड पौडेलले प्रष्ट पार्दै भने, ‘यो रियालिटी शो फ्रेन्चाइज आइडलको विश्वव्यापी नियम नै हो । यसमा हामीले तलमाथि गर्न मिल्दैन । उमेर नपुगेकाहरुको हकमा आगामी वर्षहरुमा नेपाल आईडलको ढोका संधै खुल्ला रहनेछ ।’
नेपालगन्जबाट सुरु हुने अडिसन बुटवलमा माघ १५, नारायणघाटमा माघ १८, वीरगन्जमा माघ २१, विराटनगरमा माघ २४ र २५, पोखरामा माघ २९ र फागुन १ एवम् काठमाडौंमा फागुन ७ र ८ गते हुनेछ । प्रतियोगितामा संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक छन् । प्रतियोगिताको स्तर र पुरस्कार राशिले पनि धेरैलाई आकर्षित गरेको छ । विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्द्रा कुप १०० कार, २० लाख रुपैयाँ क्याँस र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम रेकर्डको अवसर प्राप्त गर्नेछ ।
सन् २००१ मा बेलायतका टेलिभिजन प्रोड्युसर साइमन फुलरले सुरु गरेको यो रियालिटी शो विश्वका विभिन्न मुलुकमा चर्चित छ । बेलायतमा पप आइडलका रूपमा परिचित यो सांगीतिक प्रतिस्पर्धा बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर परिचित छ । अमेरिकी टेलिभिजन फक्स च्यानलले सन् २००२ बाट यो शोलाई अमेरिकन आइडलका रूपमा सञ्चालन गरेपछि विश्वव्यापी रूपमा यसको चर्चा सुरु भएको हो । अमेरिका, अष्ट्रेलिया, अरब, इन्डोनेसिया, न्युजिल्यान्ड, ल्याटिन अमेरिका, पोल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, भारतपछि फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करण नेपाल आइडल सुरु हुन लागेको हो ।

0 comments:
Post a Comment