सुरवीर पण्डितले दुःखी हुँदै भने - नाति समानका कलाकारसँग पनि प्रतिस्पर्धा गर्नुपर्छ
काठमाडौं, माघ १८ – कलाकार सुरवीर पण्डितले दर्जनौँ रेडियो नाटक, सिनेमा र टेलिसिरियलमा काम गरेका छन् । प्राय सिनेमामा गरिब पात्रको भूमिका निभाउने भएका कारण उनलाई गरिब कलाकार भनेर पनि धेरैले चिन्ने गरेको पाइन्छ ।
पछिल्लो समयमा उनलाई धेरैले धुर्मुसको बुबाको रुपमा चिन्छन् । सुरवीरले मेरी बास्सैमा धुर्मस अर्थात सीताराम कट्टेलका बुबाको भूमिका निभाएका थिए । 
काडमाडौंको बुढानिलकण्ठ मुहानपोखरीमा जन्मिएका उनले कक्षा ७ सम्म बुढानिलकण्ठ निम्न माध्मिक विद्यालयमा अध्ययन गरे । त्यसपछि प्रभात माध्यमिक विद्यालय हुँदै एसएलसी भने सिद्धि गणेश मावि भक्तपुरबाट दिए । यद्यपी, उनी आफूलाई सामान्य लेखपढ गर्न जान्ने व्यक्तिको रुपमा मात्र चिनाउँछन् । किशोरावस्थामा उनको मनमा कलाक्षेत्रप्रति औधी चाहना थियो । अनायसै उनी आफ्नो रुचीको कला क्षेत्रमा संलग्न साथी खोज्न र भेट्नमा व्यस्त भए । साथीहरुले अभिनय गर्ने अवसर मिलाईदिन्छन् कि ? भन्ने आशाले उनको मन भरिएको थियो । दिन बिते, महिना बिते, वर्षहरु पनि बिते तर कलाकार बन्ने अवसर बितेका दिनहरुले जुटाउन सकेनन्।
नाति समानका कलाकारसँग पनि प्रतिस्पर्धा गर्नुपर्छ
सूर्यलाई हत्केलाले कसरी पो छेक्न सकिन्थ्यो । वि.सं २०४३ कार्तिक २२ गते उनी पहिलो पटक क्यामेरा अगाडि उभिए । कृष्ण मल्ल उनलाई निर्देशन गरिरहेका थिए । त्यतिबेला शाही नेपाली चलचित्र संस्थान, फोटो कन्र्सन, सुजाता फिल्मप्रा. लि लगायत अन्य व्यक्तिहरुले उनलाई आक्कलझुक्कल अवसर दिन्थे । उनीहरुले जहाँ बोलाउँथे उनी सोहि ठाउँमा लुखुरलुखर पुग्ने गर्थे । सानो भूमिकामा पनि उनलाई अथाहा आनन्द मिल्ने गथ्र्यो । तीन दशकअघि आफूसँगै कला क्षेत्रमा प्रवेश गरेकाहरु निर्माता निर्देशक भईसक्दा उनलाई पनि अहिले त्यो लोभ पलाएर आउँछ । उनी आफू कलाकारबाट बढुवा हुन नसकेको भन्दै कुनै प्रगति नभएको महशुस गर्छन् । जीवनमा प्रतिस्प्रर्धा गर्दागर्दै आफ्ना नातिसमानका व्यक्तिहरुसँग प्रतिस्प्रर्धा गर्नुपर्ने बाध्यता आएको भन्दै उनी एकै छिनमा निराशाका कुरा गर्छन् ।
बाइकमा तेल जोगाउने फरक काम
धेरैलाई उनी बानीका आधारमा अनौठो मानिस लाग्न सक्छन् । आफ्नो एक अनौठो बानीका बारेमा सुनाउँदै भन्छन्, ‘म ट्याङकीभरी तेल भएको मोटरसाइकल पनि हातले गुडाएर हिँडिदिन्छु । अलिकति ओरालो आयो की स्टार्ट बन्द गरिदिन्छु । मलाई त्यसो गर्दा दुःख लाग्दैन । टाउकोमा हेल्मेट छ हेर्दा मोटरसाइकल पङ्चर देखिँदैन तर डोर्याएर हिँडेको देख्दा कहिलेकाहिँ नचिनेको मान्छेले पनि के भयो र दाइ ? भनेर सोध्छन् । तर म भन्छु केही भएको छैन । धेरैले अचम्म मान्दा रहेछन् । कुनै कामले म घरबाहिर निस्किएँ भने पुग्नुपर्ने ठाउँ नजिक छ, समय धेरै छ भने म बाईक चलाउँदिन । यसमा मानिस दङ्ग पर्दा रहेछन् । मलाई समय छ किन खर्च गर्नु तेल ? अहिले बचेको तेलले अप्ठेरो पर्दा काम लाग्छ नि ! जस्तो लाग्छ। 
‘जीवन रेखा’ झण्डै ४० पटक हेरेँ
१२-१३ वर्षको छँदा उनलाई चलचित्र ‘सिन्दुर’ हेर्ने मौका मिल्यो । उनका भान्दाइ लक्ष्मण भण्डारीले उक्त मेसो मिलाएका थिए । त्यसपछि उनले चलचित्र ‘जीवन रेखा’ झण्डै ३०/४० पटक सम्म हेरेका रहेछन् । उनलाई चलचित्रले निक्कै छोएको थियो । त्यस्तै काम गर्न पाए हुने भन्ने भएको थियो ।
फिल्म हेर्न त उनी जान्थे नै, बाल्यकालमा काँक्रो चोर्ने, चराको गुँड भत्काउने काममा पनि संलग्न हुन्थे । त्यसैले पढाईतिर खासै ध्यान नगएको भन्दै उनी अहिले मनखत मान्छन् । कलाकारिता भनेको ठूलो र अमर पेशा हो र मरेर गएपनि मानिसले सम्झीँरहँदा रहेछन् भन्ने सोच बाल्यकालदेखि नै पलाएकाले उनी यसतर्फ आर्कषित थिए । त्यसैले बुबाको छोरो पढोस् ठूलो मान्छे होस् भन्ने चाहनालाई उनले बेवास्ता गर्दै निर्देशक र कलाकारको घरघरमा पुग्न थाले । त्यस्तै क्रममा उनले नायक शिव श्रेष्ठलाई भेट्ने मौका पाए । उनलाई हौसला दिने मध्येमा शिव श्रेष्ठ पनि एक हुन् जसले उनको कलाकारिता क्षेत्रलाई फस्टाउन मद्दत गर्यो । त्यस्तै रमेश बुढाथोकी र कृष्ण मल्लले दिएको अवसरका कारण नै यो ठाउँसम्म आइपुगेको उनी बताउँछन् ।
फुर्सदमा खेतिपाती
निम्न मध्यम परिवारमा जन्मिएका सुरवीर पण्डितका बुबाआमा अहिले पनि खेतिपातीमा संलग्न छन् । उनी पनि फुर्सद भए अझै पनि खेतबारीमा काम गर्छन् । मकै भाँच्ने, कोदो रोप्ने र बुवा–आमा र श्रीमतीलाई सघाउनमै रमाउँछन् । किसान बुबाको छोरा भएकाले दसैँमा टिका लगाउँदा ‘सेक्सन अफिसर बनेस् भन्ने आर्शिवाद बुवाको तर्फबाट धेरै वर्षसम्म प्राप्त भयो ।
तर बुवाको आर्शिवाद पूरा गर्न उनले सकेनन् । अन्य क्षेत्रमा लागेका भए यसबेलासम्म पेन्सन पाकिसक्थ्यो होला । तर पनि कलाकारिता अमर हुने भएकाले यस क्षेत्रप्रति नै गर्व भएको उनको भनाई छ । आजकल कोही भाइबहिनी यो क्षेत्रमा लाग्नु पर्यो भनेर सुरवीरसँग भन्न गए भने उनी सोध्छन्, ‘पढाइ कहाँ पुर्याउनु भयो ? पहिला पढाइलाई अगाडि बढाउनुहोस् अनि यो क्षेत्रमा लाग्नुहोस् । यसको मात्रै भर नपर्नुहोस् । पढेर बिग्रँदैन ।’ यो क्षेत्रमा लाग्नको लागि शिक्षा, धैर्यता र अनुशासन आवश्यक रहेको उनले अनुभव गरेका छन्।
0 comments:
Post a Comment