पृथ्वीनारायणले बनाएको राज्य सामन्ती नै होः प्रधानमन्त्री प्रचण्ड
भरतपुरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती र केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताएका छन् । चितवनको भरतपुरमा रहेको भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो ।’
उनको पृथ्वीनारायणको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुने समेत बताएका छन् । ‘पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ’, प्रचण्डले भने, ‘पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिन्छ ।’
चितवनको विकासबारे बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले केही दिन पहिल्यै मात्रै स्थानीय तह पूनर्संरचनाको रिपोर्ट बुझेको छु । चितवन अब महानगरपालिका बन्दैछ । हामी सबै महानगरपालिकाका बासिन्दा हुँदैछौं । मैले प्रतिवेदन बुझिसकेको छु, अब कार्यान्वयनको प्रक्रियातिर अघि बढिसकेको छ । महानगरपालिकाको मापदण्डमा पनि हाम्रो आफ्नै सीमा छ, विकासको गति र जनघनत्वका आधारमा हामीले महानगरपालिका मौलिक रुपमै बनाउँदै आएका छौं । चितवन विकासको बहुआयमिक सम्भावना बोकेको जिल्ला हो । चितवनको विकास र समृद्धिबारे मैले हिजै आफ्नो दृष्टिकोण राखिसकेको छु ।’
नगर परिषद् उद्घाटन कार्यक्रममा पूर्व उपप्रधानमन्त्री अमिक शेरचन, पूर्वमन्त्री एवं सांसद सुरेन्द्र पाण्डे, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहाल, प्रमूख स्वकीय सचिव जोखबहादुर महरा, सांसदहरु गीता वाग्ले, कृष्णभक्त पोखरेल, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, सन्तकुमार दराई लगायतको उपस्थिति थियो ।
तेस्रो नगर परिषद्ले आर्थिक वर्ष २०७४÷०७५ का लागि ८९ करोड ५० लाख ९९ हजार ४ सय रुपैयाँ बजेट प्रस्तावित गरेको कार्यकारी अधिकृत महेश बरालले बताए ।
- See more at: http://www.osnepal.com/255250#sthash.6LNGXEqV.dpuf
0 comments:
Post a Comment